यी हुन देशको मुहार फेर्न आएका ओली सरकारका १० नयाँ अनुहार

राजनीति

काठमाडौं, ४ चैत । नयाँ सरकारमा प्रधानमन्त्री केपी शर्मा ओलीले १० नयाँ अनुहारलाई मन्त्रिपरिषद्मा अटाएका छन् ।

मुलुकको मुहार फेर्न र आर्थिक समृद्धिको यात्रा तय गर्न नयाँ अनुहार मन्त्रिपरिषद्मा समेटिएको छ । ओली रथ हाँक्नका लागि सारथी बनेर आएका १० अनुहारमा ८ जना उनकै पार्टी एमालेबाट छन् भने २ जना सहयात्री पार्टी नेकपा माओवादी केन्द्रबाट छन् ।

टिम ओलीमा अटाएका यी १० जना पहिलोपटक मन्त्री भएका छन् । सरकारको लक्ष्यअनुसार नै काम गर्ने अठोट लिएका १० जनाको राजनीतिक पृष्ठभुमी यस्तो छ :

१. युवराज खतिवडा

ओली सरकारमा खतिवडा अर्थ मन्त्री छन् । यसअघि गभर्नर, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष समेत भइसकेका खतिवडा आर्थिक क्षेत्रमा राम्रो ज्ञान भएका मन्त्री मानिन्छन् । अझ अर्थ मन्त्रालय एक विज्ञलाई दिएका कारणले राम्रो हुनसक्ने अनुमान गरिएको छ । झापाका खतिवडा ओलीका विश्वासपात्र पनि मानिन्छन् ।

२. रवीन्द्र अधिकारी

नेकपा एमालेका युवा नेता अधिकारी पहिलो पटक मन्त्री नियुक्त भएका हुन् । उनी पर्यटन मन्त्री बनेका छन् । नेपालमा पर्यटन क्षेत्रलाई प्रभावकारिताका आधारमा चलाउने अठोट उनले लिएका छन् । कास्कीका अधिकारी यसअघि संविधान सभाका सदस्यमा निर्वाचित भएका थिए । तत्कालिन व्यवस्थापिका संसदको विकास समितिको सभापति रहँदा प्रभावकारी काम गरेका अधिकारी आशा गरिएका नेता हुन् ।

३. जगत विश्वकर्मा

नेकपा एमालेका बैकल्पिक पोलिटव्युरो सदस्य, प्रदेश नम्बर ४ का एमालेका सचिव एवं प्रचार विभाग प्रमुख समेत रहेका जगत विश्वकर्मा टिम ओलीमा युवा तथा खेलकुद मन्त्री छन् । कास्की क्षेत्र नम्बर ३ बाट निर्वाचन जितेका विश्वकर्मा युवा नेतामा गनिन्छन् । विश्वकर्माले आफू पहिलोपटक मन्त्री बनेका कारण प्रभावकारी काम गर्ने अठोट लिएका छन् । उनी पनि ‘डाइनामिक’ नेता मानिन्छन् ।

४. शेरबहादुर तामाङ

ओली सरकारको कानुन, न्याय तथा संसदीय मामिला मन्त्री तामाङ लामो समय एमालेमा काम गरेका व्यक्ति हुन् । उनी एमाले युवा विभाग इञ्चार्ज पनि थिए । प्रतिनिधिसभा निर्वाचनमा सिन्धुपाल्चोक–२ मा राप्रपाका पशुपति शमशेर राणालाई पराजित गरी संघीय संसदको सदस्य बनेका तामाङले आफ्नो कार्यकालमा न्यायप्रणाली सुदृढ बनाउने अठोट लिएका छन् ।

५. थममाया थापामगर

टिम ओलीमा पहिलो पटक मन्त्री हुने अर्को अनुहार हो, थममाया थापामगर । म्याग्दीबाट प्रतिनिधित्व गर्ने थापा सरकारमा महिला बालबालिका तथा समाजकल्याण मन्त्री छन् । ०४८ सालमा म्याग्दीबाट उनले चुनाव जितेकी थिइन् । ०५६ मा राष्ट्रियसभा सदस्य भएकी थापा ०६४ मा समानुपातिक सांसद थिइन् । एमाले पोलिटव्युरो सदस्य थापा ०४० सालदेखि एमालेको राजनीतिमा सक्रिय छन् । उनी अखिल नेपाल महिला संघकी महासचिव समेत हुन् ।

६. बिना मगर

नेकपा माओवादी केन्द्रकी महिला नेतृ बिना मगर यो सरकारमा खानेपानी मन्त्री छिन् । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी बुहारी समेत रहेकी मगर मन्त्रीमण्डलकी कान्छी सदस्य पनि हुन् । स्व. प्रकाश दाहालकी पत्नी बिना कञ्चनपुर–१ बाट प्रतिनिधिसभा निर्वाचनमा भारी मतले विजयी भएकी थिइन् । ११ वर्षको उमेरदेखि बिना माओवादी युद्ध हुँदै आन्दोलनमा लागेकी थिइन् । जेलमा यातनासमेत पाएकी उनी देशको खानेपानी अवस्थालाई सुधार गर्न सक्रिय रहने बताउँछिन् ।

७. गोकुल बाँस्कोटा

पत्रकारिताको पृष्ठभूमिबाट सक्रिय राजनीतिमा लागेका बाँस्कोटा टिम ओलीका सञ्चार राज्यमन्त्री हुन् । काभ्रेमा एमालेको संगठनलाई चलायमान बनाउने बाँस्कोटा ओलीका खास पात्र मध्येका एक पनि हुन् । काभ्रे–२ बाट प्रतिनिधिसभामा उनी निर्वाचित भएका थिए । पहिलो पटक मन्त्री भएका बाँस्कोटाले नेपाली सञ्चार क्षेत्रमा नयाँ सुधार गर्ने अपेक्षा लिएका छन् ।

८. पद्मा अर्याल

ओली सरकारको स्वास्थ्य राज्यमन्त्री हुन् आर्यल । नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठलाई स्याङ्जा–२ मा पराजित गर्ने अर्याल नेकपा एमालेकी पोलिटव्युरो सदस्य पनि हुन् । पहिलो पटक मन्त्री बनेकी अर्यालले स्वास्थ्य क्षेत्रमा खास सुधारको चासो पनि राखेकी छन् ।

९. धनबहादुर बुढा

ओली सरकारमा विकट जिल्लाको प्रतिनिधित्व गर्दै पर्यटन राज्यमन्त्रीको जिम्मेवारी सम्हालेका बुढा प्रतिनिधिसभामा डोल्पाबाट विजयी सदस्य हुन् । उनी ०७० को संविधानसभा निर्वाचनमा सोही डोल्पाबाटै विजयी भएपनि मन्त्रीपरिषद्मा पुगेका थिएनन् । पहिलोपटक सिंहदरबारको प्रशासनिक निकायमा पुगेका बुढाले डोल्पालाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने लक्ष्य राखेका छन् ।

१०. रामकुमारी चौधरी

टिम ओलीमा अर्की सदस्य हुन् कृषि राज्यमन्त्री रामकुमारी चौधरी । नेकपा माओवादी केन्द्रकी चौधरी सांसद बनेको पहिलो पटककमै मन्त्री बन्नेमा पर्छिन् सुनसरी स्थायी घर भएकी चौधरीले माओवादी युद्धताका पूर्वी कमान्डलाई बलियोसँग चलाएकी थिइन् । उनी समानुपातिक तर्फबाट सांसद बनेकी हुन् ।

from dainiknepal.com