बङ्लादेशी विमान दुर्घटनामा परेका पीडितका परिवारले ठूलो क्षतिपूर्ति पाउने अवसर गुमाए

समाचार

काठमाडौं–अघिल्लो सोमबार त्रिभुवन विमानस्थलमा दुर्घटनाग्रस्त बङ्लादेशी विमानमा परेका पीडितका परिवारले ठूलो क्षतिपूर्ति रकम पाउने अवसर गुमेको छ ।

नेपाल र बङ्लादेशले विमान दुर्घटनामा पीडितले क्षतिपूर्ति पाउनेसम्बन्धी ‘मोन्ट्रियल अभिसन्धि १९९९’ लागू गर्न गरेको ढिलाइले यो अवस्था निम्तिएको हो ।

यो अभिसन्धिमा हस्ताक्षर गरेको अवस्थामा विमान दुर्घटनाका पीडितहरूले प्रतियात्रु १,४५,४६२ अमेरिकी डलर क्षतिपूर्ति पाउनेछन् । यो लगभग १ करोड ५१ लाख रुपियाँ हुन आउँछ ।

मोन्ट्रियल अभिसन्धिको धारा २१ ले विमान दुर्घटनामा परेका प्रत्येक यात्रुलाई विमान कम्पनीले अनिवार्य यो रकम दिनुपर्ने व्यवस्था गरेको छ । यो प्रावधान मोटर गाडीहरूमा ‘तेस्रो पक्ष बिमा’ जसरी कार्यान्वयन हुन्छ ।

बंङ्लादेशले सन् १९९९ मा मोन्ट्रियल अभिसन्धि हस्ताक्षर गरेको भए पनि संसदबाट पारित गरेको छैन । नेपालले अझ यस अभिसन्धिमा हस्ताक्षर गरेको छैन ।

२०६७ सालमा नेपालले यस अभिसन्धि लागू गर्ने प्रक्रिया चलाएको भए पनि प्रक्रिया निक्कै ढिलो गरी अघि बढिरहेको छ । मोन्ट्रियल अभिसन्धि लागू गर्नका लागि राष्ट्रले अभिसन्धि हस्ताक्षर गरेर त्यससम्बन्धी छुट्टै कानुन पारित गर्नुपर्छ ।

यो अभिसन्धि लागू भएपछि विमानको भाडा भने बढ्नेछ । नेपालजस्तो मूल्य संवेदनशील बजारमा यसले यात्रु सङ्ख्या घटाउने डरले विमान कम्पनीहरूले पनि यसमा चासो दिइरहेका छैनन् ।

नेपाल हाल विमान दुर्घटनासम्बन्धी ‘बार्सा अभिसन्धी’मा मात्र अनुबन्ध रहेको छ । यो अभिसन्धि अनुरूप विमान दुर्घटनाका मृतक वा घाइते यात्रुले प्रतियात्रु २०,००० अमेरिकी डलर (लगभग ने.रु. २० लाख बराबर) क्षतिपूर्ति पाउनेछन् ।

सोमाबार त्रिभुवन विमानस्थलमा अवतरणको क्रममा बङ्लादेशी यू.एस.–बङ्ला वायुसेवाको बम्बार्डिएर डस ८ विमान दुर्घटना हुँदा ४९ यात्रुको मृत्यु भएको थियो । मर्नेमा २२ नेपाली, २६ बङ्लादेशी र एक चिनियाँ नागरिक रहेका छन् ।

from ratopati.com