विश्वकप छनोट क्रिकेटमा नेपालको प्रदर्शनलाई आइसीसीले यस्तो भन्यो

खेलकुद

काठमाडौं, चैत ४ – जिम्बावेमा भएको एकदिवसीय विश्वकप छनोटमा आठौं स्थान हासिल गरेको नेपालको प्रदर्शनलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषदले ‘सी’ ग्रेडको मूल्यांकन गरेको छ ।

विश्वकप छनोटको ६ मध्ये दुई खेल जितेर आठौं भएको नेपालको समग्र प्रदर्शन सी ग्रेडको भएको आईसीसीले आइतबार आफ्नो वेवसाइटमार्फत सार्वजनिक गरेको छ ।

नेपालले समूह चरणमा जिम्बावेसँग १ सय १६ रन, स्कटल्याण्डसँग ४ विकेट र अफगानिस्तानसँग ६ विकेटको पराजय ब्यहोरेको थियो । त्यस्तै समूह चरणको अन्तिम खेलमा हङकङलाई ५ विकेटले पराजित गरेको नेपालले क्रस प्लेअफमा पपुवा न्यूगिनीलाई ६ विकेटले हराउँदै आगामी सन् २०२२ सम्मका लागि अन्तर्राष्ट्रिय एकदिवसीय मान्यता सुरक्षित गरेको थियो ।

Nepal

सातौं स्थानका लागि शनिबार भएको प्लेअफमा नेपाल नेदरल्याण्ड्ससँग ४५ रनले पराजित भएको थियो । आईसीसीको समग्र रिपोर्टमा भनिएको छ, ‘यदि कुनै टिमले ६ मध्ये २ खेलमात्र जितेर पनि ठूलो सफलता हासिल गरेको छ भने त्यो नेपाल हो ।’

‘आईसीसी विश्वकप छनोटयात्रा पनि उसको नाटकीय नै थियो, सन् २०२२ सम्मका लागि एकदिवसीय मान्यता हासिल गरेर उसले अझै राम्रो सफलता हासिल गरेको छ ।’

‘समूह चरणमा लगातार तीन हारले नेपालको सुपर सिक्समा स्थान बनाउने सम्भावना सकिएको थियो । तर, समूहको अन्तिम खेलमा हङकङलाई हराउनु र त्यसपछि पपुवा न्यूगिनीलाई हराएपछि उनीहरुको लक्ष्य पूरा भइसकेको थियो, भलै उनीहरु नेदरल्याण्ड्ससँग पराजित भए ।’ आईसीसीको टिम रिपोर्टमा भनिएको छ ।

आईसीसीले १७ वर्षीय नेपाली लेग स्पिनर सन्दीप लामिछानेको उपस्थिति नेपालका लागि सबैभन्दा सकारात्मक पाटो भएको उल्लेख गरेको छ । प्रतियोगिताको ६ खेलमा सन्दीपले १३ विकेट लिए । नेपालले हासिल गरेको दुई जितमा उनकै प्रदर्शन अहम् थियो । सन्दीपले हङकङविरुद्ध १७ रन दिएर ३ विकेट  र पीएनजीविरुद्ध २९ रन दिएर ४ विकेट लिएका थिए । सन्दीपबाहेक नेपालका अन्य बलरहरुले आफूलाई प्रमाणित गर्न सकेनन् । सन्दिपले बलिङबाट र कप्तान पारस खड्काले ब्याटिङबाट नेपालको प्रदर्शन धानेका थिए, अन्यको नियमित र उल्लेखनीय प्रदर्शन देखिएन् ।

प्रतियोगिताको उद्घाटन खेलमा जिम्बावेले ६ विकेटको क्षतिमा ३ सय ८० रन बनाएपछि नेपालले १ सय १६ रनको हार ब्यहोर्नुपरेको थियो र, स्कटल्याण्ड तथा अफगानिस्तानविरुद्ध पनि नेपाली ब्याट्सम्यानहरुले सम्मानित योगफल बनाउन सकेनन् ।

रनको फ्लो बढाउन तथा सुरुवाती चुनौतिको सामना गर्न नेपाली ब्याट्सम्यानहरु असमर्थ रहे । कप्तान पारस खड्का, जसले यस प्रतियोगितामा २ सय ३१ रन बनाए, उनी बाकेह दिपेन्द्रसिंह ऐरीले पनि बेलाबखत राम्रो खेले, उनीहरुबाहेक अन्य नेपाली ब्याट्सम्यानले उल्लेखनीय प्रदर्शन गर्न असफल रहे ।

विश्वकप छनोट च्याम्पियनसिपको शीर्ष स्थामा रहेर छनोट प्रतियोगितामा सहभागी भएको नेदरल्याण्ड्सले पनि यो प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्न सकेन् । सातौं स्थानका लागि भएको खेलमा भने नेपाललाई ४५ रनले हराएर उ सातौं स्थानमा नै रह्यो । सातौ स्थानको नेदरल्याण्ड्सलाई पनि आइसीसीले ‘सी’ ग्रेडको मूल्यांकन गरेको छ । नवौं स्थानको पपुवा न्यूगिनी र दशौं स्थानको हङकङले भने ‘डी’ ग्रेडको मूल्यांकन पाएका छन् ।

राइजिङ स्टार

नेपालका लागि सर्वाधिक विकेट लिएका सन्दीप लामिछाने प्रतियोगिताकै एक प्रतिभाशाली खेलाडी हुन् । ६ खेलमा ४.१० को इकोनोमी रेटमा उनले १३ विकेट लिए । उनी भर्खर १७ वर्षका छन् र जहाँ खेलेका छन् त्यहाँ प्रशंशामात्र पाएका छन् । नेपाल भर्खरै क्रिकेटको सबैभन्दा ठूलो चरणमा पुगेको छ ।

Sandeep Lamichhane did his growing reputation no harm

उनी र अनुभवी कप्तान पारस खड्काले काँधमा काँध मिलाएर नेपाली क्रिकेटलाई अघि बढाउनेछन् । उच्च प्रतिभाशाली युवा क्रिकेटरको अहिलेको प्रदर्शनले यही संकेत गर्छ ।

from ujyaaloonline.com