दुईतिहाई मतसहित ओली शक्तिशाली प्रधानमन्त्री​

राजनीति

काठमाडौं, फागुन २७ – प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत प्राप्त गर्नुभएको छ ।

संसदमा रहेको २ सय ७५ जनामध्ये आज २ सय ६८ जना उपस्थित थिए ।

प्रधानमन्त्री ओलीले २ सय ८ मत पाउनुभएको हो । विपक्षमा ६० मत खसेको छ । प्रधानमन्त्री अओलीलाई माओवादी केन्द्र, संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीका साथै, स्वतन्त्र सांसद छक्कबहादुर लामा, जनमोर्चाकी दूर्गा पौडेल, राप्रपाका राजेन्द्र लिङदेन लगायतको समर्थन रहेको छ ।

सभामुख कृष्णबहादुर महराले आउँदो चैत्र २ गते उपसभामुखको चुनाव हुने सूचना सुनाउँदै आजको संसद बैठक स्थगित भएको घोषणा गर्नुभयो ।

विश्वासको मत लिने क्रममा संसदमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संविधान अनुसार हुनुपर्ने तीनवटै तहका चुनाव सकिएकाले अब सरकार र प्रतिपक्षी दुवै मिलेर देश विकासमा लाग्नुपर्ने बताउनुभएको हो । ‘चुनावका बेला कुनै कुनै दलसँग केही असमझदारी, ठाकठुक परे होलान् तर अब हामीले त्यो कुरा बिर्सेर देश सम्वृद्ध बनाउन लाग्नुपर्छ’ संसद भवनमा निकै गम्भीर देखिएका प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘सरकारमा छौं जे पनि गर्न सक्छौं भनेर दम्भ देखाउने छैनौं, प्रतिप्रक्षीले पनि जे कुरामा पनि निहुँ खोज्न हुन्न र सम्बृद्धिको बाटोमा जानुपर्छ ।’

प्रधानमन्त्री ओलीले आफूहरुले लोकतान्त्रिक गणतन्त्रका लागि लामो समय लडेकाले अब नेपाली जनताको इच्छा आकांक्षा परिपूर्ति गर्न सबै दल मिलेर लाग्नु पर्ने बताउनुभयो । ‘अहिले सरकारलाई सरकार बन्न नदिने अवस्था छैन, प्रतिपक्षी हौँ जसरी पनि विरोध गर्नुपर्छ भन्ने सुविधा नै छैन यदि बुझ्ने हो भने’, प्रधानमन्त्री ओलीले कांग्रेसप्रति लक्षित गर्दै भन्नुभयो ।

त्यस्तै उहाँले संसदीय अभ्यासमा प्रतिपक्षी दलले पनि प्रधानमन्त्रीलाई विश्वासको मत दिन मिल्ने व्यवस्था भएकाले आफूलाई भोट नदिन पर्ने कुनै कारण नभएको प्रधानमन्त्री ओलीले जिकिर गर्नुभयो ।

नागरिकका हक अधिकार सुरक्षित गर्ने र राष्ट्रियताको मामलामा तलमाथि हुनै नसक्ने भन्दै ओलीले आफूले पनि भ्रष्टाचार नगर्ने र अरुलाई पनि भ्रष्टाचार नगर्न आग्रह गर्नुभयो ।

नागरिकको इच्छा साकार बनाउनकै लागि यो गठबन्धन र सरकार बनेको भन्दै ओलीले सांसदहरुलाई यो कार्यकाललाई सम्वृद्ध नेपाल बनाउने कार्यकालका रुपमा लिन पनि आग्रह गर्नुभयो । सम्वृद्धिको यात्राको अगुवाइ सरकारले गर्ने र त्यसमा प्रतिपक्षीलगायत सबै नागरिकले साथ दिनुपर्ने ओलीको भनाई छ ।

त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने क्रममा संसदमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले अब नागरिकले भाषण नपत्याउने भन्दै एक्सनमै जानुपर्ने बताउनुभएको हो । आजसम्म धेरै भाषण सुन्दा नागरिक वाक्क भएकाले अव एक्सनमा नगइ नहुने प्रचण्डको भनाई छ ।

प्रचण्डले आफूहरुले निर्वाचनका समयमा नै विश्वासको मत प्राप्त गरिसकेकाले अहिलेको प्रक्रिया औपचारिकता मात्रै भएको पनि बताउनुभयो ।
‘यहाँ भाषण धेरै भए, नागरिकले भाषण पत्याउन छाडिसके हामीलाई काम गर्न अब कसैले रोक्न सक्दैन त्यसैले हामी एक्सनमा जानुपर्छ’ प्रचण्डले भन्नुभयो ।

उहाँले अब सबै मिलेर देश सम्बृद्ध नबनाए नागरिकले छुट दिने पनि बताउनुभयो । शान्तीप्रक्रियापछिका ८ वटा सरकारलाई आफूले समर्थन गरेको तर यो सरकारलाई समर्थन गर्नुको विशिष्ट अर्थ रहेको भन्दै सबै मिलेर नागरिकलाई सुखका दिनतर्फ लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गएको १० वर्षमा १० जना प्रधानमन्त्री भएको र आफूले ८ जनालाई आफ्नै प्रस्तावमा प्रधानमन्त्री बनाएको बताउनुभयो । उहाँले ठट्टा गर्दै भन्नुभयो, ‘आठ जना प्रधानमन्त्री बनाएँ, कति जना प्रधानमन्त्री बनाएपछि गिनिज बुकमा नाम लेखिने हो ?’

कैलालीमा बोक्सीको आरोपमा बालिका कुटिनु अन्त्यन्तै दुःखद कुरा भएको भन्दै प्रचण्डले अब बालिका कुटिइन् भनेर बस्नु भन्दा पनि उनलाई न्याय र दोषीलाई तत्कालै कडा भन्दा कडा कारबाही हुनुपर्ने बताउनुभयो । कारबाही गरौँ भनेर भाषण गर्दैमा नागरिकले नपत्याउने भन्दै प्रचण्डले बालिका कुट्ने र बलात्कार गर्नेविरुद्ध जस्तोसुकै कडा कानुन बनाउन पनि संसद तयार हुनुपर्ने बताउनुभयो ।

त्यस्तै निर्वाचनको बेला गरेको प्रतिवद्धतालाई उधारोमा हैन हाताहाती रुपमा कार्यन्वयन गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाली कांग्रेसका युवा नेता गगनकुमार थापाले आग्रह गर्नुभएको छ ।

संसदमा प्रधानमन्त्रीले विश्वासको मत लिने कार्यक्रममा विशेष समय लिएर बोल्नुहुँदै प्रतिबद्धताको कार्यन्वयन गराउन बलियो प्रतिपक्ष कांग्रेस भएकाले यसको निगरानी गर्ने थापाको भनाई थियो ।

दिगो शान्ति स्थिरता र समृद्धिको लागि बलियो व्यक्तिको पक्षमा हैन बलियो संस्थाको पक्षमा रहेकाले बलियो व्यक्ति हैन संस्था निर्माण गरेर अगाडि बढ्न थापाको सुझाव थियो । ‘ संशोधनको विषयमा एक इन्च लचक हुन नखोज्ने एमाले अहिले दुईतिहाईको नाममा तयार हुनुको नियत सकारात्मक होस्’ थापाले भन्नुभयो, ‘नियत खराब राखेर हैन सकारात्मक सोचको आधारमा काम होस् । नेपाली कांग्रेस सधै सकारात्मक प्रतिपक्षमा रहने छ ।’

‘प्रधानमन्त्री देशको सर्वोच्च कमान्डर हो कुनै दलको हैन । प्रधानमन्त्रीको भूमिकामा तपाईको अब्बल होस् ।’ थापाले भन्नुभयो । गगन थापाले चुनावको बेलामा आफूलाई प्रधानमन्त्री ओलीले ‘यो फुच्चे सेलिब्रेटी हुन ठीक छ’ भन्नुभएको बताउनुभयो ।

थापाले चुनावको बेलामा आफूमाथि बम प्रहार हुँदा ओलीले चर्चामा आउन आफैँले बम पड्काउन लागाएको आरोप लगाउनुभएको थियो । थापाले भन्नुभयो ‘चुनावको बेलामा त जे भन्दा पनि हुन्छ । तर अब ओली प्रधानमन्त्री जस्तो जिम्मेवार पदमा भएकाले उहाँले जे पनि बोल्न मिल्दैन ।’

from ujyaaloonline.com