फेसबुके माया: छोरीका बाबुसँग बिहे गर्न पोल्यान्डदेखि भारत आइन् छोराकी आमा

रोचक

एजेन्सी: विश्वकै सबैभन्दा लोकप्रिय सामजिक सञ्जाल फेसबुकसँग जोडिएका लाखौँ किस्सा विश्वभर चर्चित छन् । फेसबुकसँग जोडिएर दैनिक कयौँ चाख लाग्दा घटना पनि भइरहन्छन् ।

यस्तै एउटा घटना हालै भारतमा भएको छ । पोल्यान्डकी एक विवाहित महिलाले फेसबुकबाट माया बसेपछि आफ्ना पतिलाई डिभोर्स दिँदै छोरीका बाबुसमेत रहेका एक युवासँग विहे गर्न भारत आइपुगेकी छन् ।

यो रोचक घटना भारतको पञ्जाब राज्यस्थित जालन्धरमा भएको हो । जहाँको फिल्लौरस्थित गन्ना गाउँमा यस अनौठो बिहेलाई देखेर चकित भएका छन् ।

जानकारी अनुसार यो गाउँका ३८ वर्षीय श्याम आफ्नी १० वर्षीया छोरीसँग बस्दै आएका छन् । केही वर्षअघि उनकी पत्नीको निधन भइसकेको थियो । पत्नीको निधन भएपछि उनको मित्रता फेसबुकबाट पोल्यान्ड निवासी इभोनासँग सुरु भयो ।

फेसबुकबाट मित्रता सुरु भएपछि उनीहरुबीच कुराकानी बाक्लिँदै गयो । कुरा बढ्दै जाँदा फेसबुकबाटै उनीहरुबीच माया पनि बस्न पुग्यो ।

त्यसपछि इभोनाले श्यामसँग बिहे गर्ने प्रस्ताव पनि राखिन् । यो प्रस्तावले पहिले श्याम हिच्किचाए तर पछि उनले इभोनाको प्रस्तावलाई स्वीकार गरिदिए ।

श्यामले प्रस्ताव स्वीकार गरेपछि इभोना पोल्यान्डबाट भारत आइन् अनि गत फेब्रुअरी २३ मा गाउँकै गुरुद्वारामा बिहे गरे । इभोनाले बताए अनुसार उनी १८ वर्षीय छोराकी आमा हुन् । श्यामसँग बिहे गर्नैका लागि उनले पतिलाई डिभोर्स दिएको बताएकी छन् ।

इभोनाले भनिन्, ‘मेरो छोरो र श्यामको छोरीलाई हाम्रो नयाँ सम्बन्धमा कुनै गुनासो छैन । उनीहरु दुवै खुशी छन् ।’

इभोनाले श्यामसँग बिहे गरेसँगै अहिले पञ्जाबी बोल्न सिकिरहेकी छिन् । इभोनाले आफू १२ मार्चमा पोल्यान्ड फर्किने बताउँदै श्याम र उनकी छोरीलाई पनि उतै बोलाउने बताएकी छन् ।

from annapurnapost.com